Rule 4
राष्ट्रिय समितिको काम, कर्तव्य र अधिकार

(१) राष्ट्रिय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :—
(क) मानव बेचबिखन तथा ओसारपसार विरुद्ध आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी मन्त्रालय समक्ष पेश गर्ने,
(ख) स्वीकृत भएको नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने तथा कार्यान्वयनको अनुगमन गर्ने,
(ग) विदेशमा अलपत्र परेका पीडितको उद्धार गर्ने तथा निजको सहमतिमा स्वदेश फर्काउने,
(घ) नेपाल सरकारले दिएको निर्देशन बमोजिम केन्द्रले गरेको काम कारबाहीको अनुगमन गर्ने गराउने तथा आवश्यक निर्देशन दिने,
(ङ) जिल्ला समितिको काम कारबाहीको समन्वय तथा अनुगमन गर्ने,
(च) मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित लगत तथा अभिलेख अद्यावधिक गर्ने,
(छ) नेपाल पक्ष भएका मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौता अन्तर्गतका दायित्वहरु कार्यान्वयनको अनुगमन गर्ने,
(ज) सीपमूलक तालीम लिएका व्यक्ति मध्ये बीउ पूँजी (सिडमनी) उपलब्ध गराउने सम्बन्धी मापदण्ड बनाइ लागू गर्ने,
(झ) केन्द्र सञ्चालन निर्देशिका बनाई जारी गर्ने ।

(२) राष्ट्रिय समितिले उपनियम (१) को खण्ड (ग) बमोजिम उद्धार कार्य गर्दा संघ संस्थाहरुसँग समन्वय गरी गर्नेछ ।
(३) ऐन तथा यस नियमावली बमोजिम गरिने उ्द्धारसँग सम्बन्धित सम्पूर्ण कार्यको अभिलेख राखिनेछ । यसरी अभिलेख राख्दा उद्धार गरिएका व्यक्तिको पहिचान र विवरण गोप्य रहनेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकार प्राप्त निकायबाट माग गरेका अवस्थामा त्यस्तो अभिलेख उपलब्ध गराउन सकिनेछ ।
(५) राष्ट्रिय समितिको सचिवालय मन्त्रालयमा रहनेछ ।